काठमाडौं । विश्वप्रसिद्ध बेलायती साप्ताहिक द इकोनोमिस्टले आगामी वर्षको विश्व परिदृश्य केलाउने आफ्नो वार्षिक विशेषाङ्क ‘द वर्ल्ड अहेड २०२७’ सार्वजनिक गरेको छ। यसका लेखहरू मंगलबार (नोभेम्बर १७) देखि अनलाइनमा उपलब्ध छन्।
विशेषाङ्क नोभेम्बर २१ को साप्ताहिक छापा संस्करणसँगै आउनेछ भने नोभेम्बर २६ देखि छुट्टै संस्करणका रूपमा पसलमा पाइनेछ। चालीस वर्षभन्दा लामो इतिहास बोकेको यो विशेषाङ्कको आवरण चित्र हरेक वर्ष विश्वभर चर्चाको विषय बन्ने गर्छ।
‘विनाशकारी एंग्री बर्ड’
विशेषाङ्कका सम्पादक टम स्ट्यान्डेजले ट्रम्पपछिको युग सुरु भइसकेको तर राष्ट्रपति ट्रम्प चुपचाप बिदा नहुने टिप्पणी गरेका छन्। उनका अनुसार ट्रम्प कार्यकालको अन्तिम चरणमा कमजोर नेता होइन, बरु ‘विनाशकारी एंग्री बर्ड’ जस्तो बन्नेछन्। थप कार्यकारी आदेश, कानुनी विवाद र भौगोलिक स्थानको नाम फेर्नेजस्ता कदम आउन सक्ने उनको अनुमान छ।
यी हुन् २०२७ का १० विषय
१. ट्रम्पपछिको युग : ट्रम्प प्रभावशाली रहिरहने तर विश्वले उनीपछिको अमेरिकाबारे सोच्न थाल्ने।
२. इरान युद्धको पराकम्प : क्षेत्रीय राजनीति, ऊर्जा आपूर्ति र मलको अभावका कारण खाद्य सुरक्षामा असर।
३. फेरि सबैभन्दा तातो वर्ष : खडेरी, डढेलो र तातो लहर जारी रहने, नवीकरणीय ऊर्जाको विस्तार हुने।
४. एआईविरुद्ध बढ्दो असन्तुष्टि : एआईमा बढ्दो ऋण र अपारदर्शी लगानीले बजार दुर्घटनाको जोखिम।
५. युरोपमा लोकप्रियतावादी दक्षिणपन्थ : फ्रान्समा मरिन ले पेन जितिन् भने फ्रान्स–जर्मनी साझेदारीमा धक्का।
६. बन्ड बजारमा दबाब : धनी देशको बढ्दो खर्च र बढ्दो ब्याजदरले संकट निम्त्याउन सक्ने।
७. ताइवानका लागि जोखिमपूर्ण क्षण : चीनले २०२७ लाई सैन्य तयारीको लक्ष्य बनाएको भनिएको।
८. ओजेम्पिक प्रभाव : तौल घटाउने औषधिले उपभोक्ता खर्चको ढाँचा बदल्दै।
९. सस्तो अन्तरिक्ष प्रक्षेपण : स्टारशिपबाट नियमित उपग्रह प्रक्षेपण र निजी अन्तरिक्ष स्टेसन।
१०. हलिउडको पुनर्संरचना : फ्रेन्चाइज फिल्म र कम बजेटका युट्युबर फिल्मबीच नयाँ प्रतिस्पर्धा।
नेपालका लागि अर्थ
इरान युद्धपछिको मल अभाव, जलवायु संकट र एआई जस्ता विषय नेपालजस्ता आयातमा निर्भर र जलवायु जोखिममा रहेका देशका लागि पनि प्रत्यक्ष सरोकारका विषय हुन्।


























